चितवन, ३० वैशाख-कोरोना संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाले पनि कोरोना जितेकी छिन् । २ पटकसम्म गरिएको स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
पूर्वी चितवनको राप्ती नगरपालिकाकी ती महिलाको यसअघि ५ पटक नतिजामा नियमित पोजिटिभ देखिएको थियो । तर, छैठौँ र सातौँ नतिजा भने उनको नेगेटिभ आएपछि उनलाई बुधबार डिस्चार्ज गरिन लागेको मेसु तिवारीले बताए । उनका अनुसार भोलि दिउँसो उनलाई घर पठाएर अस्पतालमा राखिएको ठाउँमा भाइरस मार्नका लागि औषधि छरिँदै छ ।
३ चैतमा हङकङ हुँदै काठमाडौं आएर ५ गते राप्ती नगरपालिका–८ स्थित घर आएकी उनमा ३ वैशाखमा आरडीटी परीक्षणका क्रममा शङ्कास्पद रिपोर्ट देखिएको थियो ।
आमामा शंकास्पद देखिएपछि उनी र उनीसँगै आएका २ छोराको समेत पीसीआर परीक्षण गर्दा ५ वैशाख आमा र १ छोरामा कोरोना पुष्टि भएको थियो । उनीसँगै पोजिटिभ देखिएका उनका २७ वर्षीय छोरालाई भने अस्पतालले केही दिनअघि नै नेगेटिभ देखिएपछि डिस्चार्ज गरिसकेको छ ।