एजेन्सी, बैशाख २७-तस्वीरमा देखिएका व्यक्ति ९२ वर्षीय भवानी शर्मा हुन् । भारत जयपुरका उनले कोरोनामाथि विजय प्राप्त मात्र गरेका छैनन्, जिन्दगीको सबैभन्दा सुन्दर चित्र पनि देखाएका छन् । २८ अप्रिलमा कोरोना संक्रमणबाट पूरै मुक्त भई उनी अहिले ‘होम क्वारेन्टाइन’को गाइडलाइन फलो गरिरहेका छन् ।
यो उमेरमा त्यस्तो के थियो जसले अझै जिउनलाई उनमा इच्छाशक्ति जगाइदियो ? काेराेना जितेपछि घर फर्किने बेला भारतीय सञ्चारमाध्यमलाई आफू र आफ्नो स्वास्थ्यबारे शर्माले जे बताए, त्याे हामी सबैका लागि अनुकरणीय बन्न सक्छ ।
म ठीक हुनुको पहिलो श्रेय मेरो परिवारलाई नै जान्छ । किनकि, मेरा सबै साथी–भाइले त मलाई ‘अलविदा’ भनिसके । बस्, परिवारलाई म आफैँ हेर्न चाहन्थे । मलाई परिवारमा फर्किनु थियो । उमेरको हिसाबले त मलाई भगवानसँग कुनै गुनासो छैन । बस्, एकपटक परिवारसँग भेट्न चाहन्थे । मेरा दुई छोरा रिटायर्ड डाक्टर, इन्जिनियर हुन् । उनीहरूको काखमा अन्मिम सास लिने मेरो इच्छा छ ।
मैले यही प्रार्थना गर्दै सबै कुरा भगवानकै हातमा छोडिदिएँ । हाम्रो हातमा त के नै छ र ? मलाई कसरी कोरोना संक्रमण भयो, यसको जवाफ मसँग छैन । जे होस्, १३ देखि २८ अप्रिलसम्म एसएमएसस्थित कोरोना उपचार केन्द्रमा दिन कसरी बित्यो पत्तै पाइनँ ।
उपचारका क्रममा मैले आफूले आफूलाई कमजोर हुन दिइनँ । बिहान–बेलुकै योग गरेँ, मन पर्ने संगीत सुने र ईश्वरप्रति विश्वास राखेँ किनकि, अन्तिम सत्य त उनैले जान्दछन् ।
म यो उमेरमा पनि करिब स्वस्थ्य छु । डायबिटिज, बीपीजस्ता बिमार मदेखि टाढै छ । किनकि, मैले कहिल्यै नशा लिइनँ । शरीरसँग लड्ने क्षमता छ, नकारात्मक विचार झुक्किएर पनि आउँदैन । म कहिल्यै खाली बसिनँ । जिम गएर मात्र व्यायाम हुन्छ वा शरीर बन्छ भन्ने हुँदैन । मेरो त पैदल हिँड्ने बानी छ । धेरै हिँड्छु । जीवनभरी हिँड्नु र कामकाजको व्यस्तताले नै मलाई बचायो । घरमा गार्डनिङ जस्ता यति धेरै काम छ, त्यसैले पनि म व्यस्त हुन्छु । म सधैं राम्रो र अझै राम्रो गर्ने सोच्छु । जिन्दगीमा बस् एउटै मन्त्र याद राख्नुपर्छ– राम्रो सोच्नुस्, सबै कुरा राम्रै हुन्छ ।