काठमाडौं, २७ वैशाख-स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिकबारे चिनियाँ दूतावास बोलेको छ । शुक्रबार दिउँसो स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको थियो ।
चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको घटनाबारे आफू जानकार रहेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल गरिरहेको नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार राती विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
प्रहरीमाथि आक्रमणमा उत्रिएका ४ चिनियाँ नागरिकमाथि मुद्दा चलाउने तयारी भएपछि दूतावासले राती विज्ञप्ति जारी गरेर घटनाबारे जानकार रहेको उल्लेख गरेको हो ।
नेपालमा रहेका चिनियाँहरूले यहाँको कानुनको पालना गर्नु पर्ने पक्षमा आफूहरू रहेको विज्ञप्तिमा उल्लेख छ । झडपमा परी महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र १ प्रहरी जवान घाइते भएका छन् । यस्तै, ४ जना चिनियाँ नागरिक पनि घाइते भएका छन् । लकडाउन उलङ्घन गरी निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो ।
प्रहरीले उनीहरूको भीडलाई तितरबितर पार्न खोज्दा उनीहरू प्रहरीमाथि नै जाइलागेका थिए । अहिले प्रदर्शन गर्न पुगेका सबै चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले यसअघि पनि स्वादेश फिर्ता हुन पाउनुपर्ने भन्दै दूतावाससँग आग्रह गरेका थिए भने पर्यटन वोर्डमा समेत पुगेका थिए ।