बुटवल, २५ वैैशाख-कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन जारी छ । लकडाउनका कारण सबै क्षेत्र ठप्प छन् । यसबाट पर्यटकीय क्षेत्र पनि अछुतो छैन । बसन्त ऋतुमा फूलहरु फुलेर ढकमक्क र पालुवा पलाएर हरियाली भएको प्रसिद्ध पर्यटकीय गन्तव्य लुम्बिनी पनि सुनसान छ । यदि लकडाउन नहुँदो हो त अहिले लुम्बिनीमा बेग्लै चहलपहल देख्न्थ्यिो ।
आज बुद्ध जयन्ती । बुद्ध जयन्तीको भव्य कार्यक्रमका साथ लुम्बिनी भ्रमण बर्षको भव्य समापन हुने थियो । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर धेरै अध्यात्मक कार्यक्रम हुने थिए । पर्यटकहरू लुम्बिनी र लुम्बिनीसँग जोडिएका पर्यटकीय गन्तव्यमा मोहित हुन्थे, सेल्फी खिच्थे । तर, समय अहिले अनुकूल छैन् । बसन्त ऋतुमा लुम्बिनी साँच्चै शान्तमय छ । अहिले यहाँ कोइलीको कुहुँकुहुँ आवाज र चराहरूको चिरबिर अनि हावाको मधुर आवाज मात्र सुनिन्छ ।
यतिबेला लुम्बिनीमा ढकमक्क फूलहरु फुलेका छन् । मुनाहरू पलाएर वातावरण नै बेग्लै भएको छ । लुम्बिनीको कोइलीले एकोहोरो कुहुँकुहुँ भन्दै बोलाए पनि अहिले उसको सुरिलो आवाज सुनिदिने कोही पनि छैन ।