काठमाडौं, २१ वैशाख-सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको तुलनामा करिब १ खर्ब रूपैयाँले बढाउने भएको छ । चालू वर्षको बजेटमा ६ प्रतिशतसम्मको बजेट वृद्धि गर्न सकिने र सोही सिलिङभित्र बसेर बजेट तयारीको काम भएको अर्थमन्त्रालय स्रोत जनाएको छ ।
११ चैतदेखि लगाइएको लकडाउन र आर्थिक क्रियाकलापमा आएको अवरोधका कारण स्रोतहरू खुम्चदै गएको अवस्थामा पनि अर्थमन्त्रालयले ठूलो बजेटको तयारी गरिरहेको छ । ‘आन्तरिक स्रोत एकहदसम्म खुम्चने देखिएको छ । तर, सहायता बढाएर पनि आवश्यकता पूर्ति गर्नैपर्छ´ अर्थमन्त्रालय स्रोतले भन्यो ।
पूर्व अर्थसचिव रामेश्वर खनाल कुल गार्हस्थ उत्पादनको ४० प्रतिशतभन्दा बढीको बजेट राम्रो नमानिने बताउँछन् ।`जीडीपीको आधारमा हाम्रो बजेट निकै ठूलो भइसकेको छ, ४५\४७ प्रतिशतसम्मको बजेट अधिक हुन्छ, अघिल्लो वर्षको भन्दा बढाउनु पर्छ भन्ने छैन, १३ खर्बकै बजेटमा पनि प्राथमिकीकरण गरेर काम गर्न सकिन्छ, खनालले भने।