विराटनगर । विराटनगरको बसपार्कमा रहेको सम्राट क्यासिनोमा एमाले मोरङका सदस्य किरण लामा आइतबार मध्यराति प्रवेश गर्न खोजेपछि झडप भएको छ ।
लामाको नेतृत्वमा पुगेको एउटा समूह नै राति क्यासिनोभित्र पस्न खोजेको थियो । क्यासिनामा प्रवेश गर्न खोजेका लामासहितको समूहलाई क्यासिनोमा कार्यरत निकेश गिरीले रोकेका थिए । तर जबरजस्ती गरेपछि गिरीले लामासहित उनको समूहमाथि आक्रमण गरेको थियो । निकेश क्यासिनो संचालक अभिषेक गिरीका भतिजा हुन् । आक्रमण गर्ने लामा एमाले मोरङको दशौं अधिवेशनबाट विराटनगर भुगोलको युवाबाट सदस्यमा निर्वाचित जिल्ला सदस्य हुन् । उनी एमाले नेता विनोद ढकाल र संस्थापन दुवै प्यानलका साझा उम्मेदवार बनेका थिए ।
यसअघि पनि लामासहित विराटनगरका रेगन कँडेलको समूह रत्ना होटल भित्रको सम्राट क्यासिनमा जाने गरेका थिए । भित्र प्रवेश गरेर क्यासिनो खेल्न आएका मान्छेहरुमाथि हातपात गरिदिन थालेपछि लामासहितको टिमलाई क्यासिनो संचालक गिरीले प्रवेशमा रोक लगाए ।
नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गरेको भएपनि उनीहरू सहित विराटनगरका केही मारवाडी सामुदाय र स्वास्थ्य क्षेत्रका व्यक्तिहरु नियमित विराटनगरको क्यासिनो जाने गरेका थिए । त्यही भएर उनीहरु पनि जाने गरेका थिए । ‘आइतबार मध्यरातमा लामासहित कँडेल र उनका केटाहरू सम्राट क्यासिनोमा प्रवेश गर्न खोजेपछि क्यासिनोमा काम गर्दै आएका निकेशले गेटमा रोकेका थिए । त्यसपछि लामाले एक मुक्का ठोके । लगत्तै गिरीका केटाहरु पनि प्रतिकारमा उत्रिए । लामासहित उनीहरुको केटाहरुमाथि पनि आक्रमण भयो,’ घटनास्थलमा पुगेका एक जना प्रत्यक्षदर्शीले भने, ‘आक्रमण भएपछि वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक राजेश दत्तको टोली पुग्यो । उनीहरुको टोलीले भीडलाई नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारयण चिमरिया र वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी बुद्ध श्रेष्ठसहित क्यासिनोमा पुगे । त्यसबेलासम्म लामाको समूह भागिसकेको थियो ।’
झडपमा परेर लामा र गिरी दुवै जनालाई चोट लागेको बताइएको छ । क्यासिनो संचालक गिरीले लामा विरुद्ध मोरङ प्रहरीमा सोमबार उजुरी दिएका छन् । कँडेलकीे पत्नीले पनि गिरी विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले दुवै जाहेरी र घटनाको विषयमा अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले बताए । ‘क्यासिनो बाहिर दुई समूहको झगडा भएको रहेछ । त्यस विषयमा प्रहरीले अनुसन्धान गर्दै आएको छ । जाहेरी दुवै समूहबाट आएको छ । अहिले हामीले घटनाको सिसी टिभीलगायतका विभिन्न पाटोबाट अनुसन्धान गरिरहेका छौं,’ डिएसपी जोशीले भने । प्रहरीले यो घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरेको छैन ।
रेगन कँडेल क्यासिनो भित्र र बाहिर पटक पटक झगडामा मुछिने गरेका छन् । यसअघि पनि कँडेलले तरबार प्रहार गरेर एक जना युवालाई घाइते बनाएका थिए । विराटनगर– ११ बसपार्कमा राति करिब साढे १० बजे सामान्य विवादमा कँडेलले विराटनगर १२ का विजय कामतलाई तरवार प्रहार गरेर घाइते बनाए । कामतको त्यसबेला हातमा गहिरो चोट लागेको थियो । प्रहरीले राति नै कँडेललाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा म्याद थप गरेको थियो । त्यसपछि उनी अदालतबाट धरौटीमा रिहा भए । कँडेल गुण्डागर्दीमा संलग्न व्यक्ति हुन् । यसअघि पनि मध्यरातमा विराटनगर सम्राट क्यासिनोमा जुवा खेलर बाहिरिदा झगडा हुँदा उनी घाइते भएका थिए । २०८० पुस २६ गते रत्ना होटलको ‘सम्राट’ नामक क्यासिनोबाट निस्किएर झगडा हुँदा कँडेल र विक्रम थपलियाबीच झडप भएको थियो । झडपमा परी कँडेल घाइते भएका थिए । पछि थपलियालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका थपलिया पनि अदालतबाट धरौटीमा छुटेका थिए ।
मोरङ प्रहरीको रेकर्ड अनुसार कँडेल यसअघि सात पटक पक्राउ परिसकेका छन् । २०७१ सालमा उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा थियो । २०७३ मा ज्यान मार्ने उद्योग, २०७४ सालको साउनमा सार्वजनिक अपराध, असोजमा अभद्र व्यवहार र फागुनमा पनि अभद्र व्यवहार मुद्दा चलेको थियो । २०७७ सालमा उनी ठगी मुद्दामा पक्राउ परेका थिए । केही समय कारागार बसेर छुटेका उनीविरुद्ध गत भदौ १ गते ज्यान मार्ने उद्योगको जाहेरी परेको थियो ।