विराटनगर । सार्वजनिक लेखा समितिका सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने मोरङ अदालतले आदेश दिएको छ ।
मोरङ अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ठगी आरोपमा पक्राउ परेका पोखरेललाइ ५ लाख धरौटीमा छाड्न बिहीबार आदेश दिएको हो ।
अदालतले तोकेको धरौटि रकम बुझाएर पोखरेल रिहा भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
पोखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीलाई २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । ठगी आरोपमा पोखरेललाई प्रहरीले २५ पुसमा पक्राउ गरेको थियो । पक्राउ परेको १२ दिनमै अनुसन्धान टुङ्ग्याएर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा मङ्गलबार बुझाएको थियो ।
मोरङको रङ्गेली नगरपालिका–२ घर भई काठमाडौंमा बस्दै आएका ४३ वर्षीय अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन् । पार्टीको कोटामा एमबीबीएस भर्ना गरिदिने भन्दै बौआलालसँग २०७१ देखि २०७३ सालसम्म विभिन्न मितिमा ३८ लाख ८० रुपैयाँ चौधरीले पोखरेललाई दिएको बौआलालले बताएका छन् ।
एमबीबीएसमा छोरीको नाम निकालिदिने आश्वासन दिएपछि पैसा बुझाएको बौआलालको भनाइ छ । तर, छोरीको नाम ननिस्किएपछि पैसा फिर्ता माग्दै अनिलकहाँ पुग्दा उल्टै आफूसँग जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालले दिएको बयानमा उल्लेख छ ।
बौआलालले पहिलो किस्ताबापत २०७१ फागुन १३ मा साथी केदारप्रसाद घिमिरेमार्फत् अनिललाई ५० हजार रुपैयाँ दिएका थिए भने पछि रामदेव सिंहमार्फत् १ लाख रुपैयाँ नबिल बैङ्कमा रहेको अनिलको खाता नं. ३५१००१७५०३९८१ मा जम्मा गरेको बैङ्क भौचरमा उल्लेख छ । २०७३ जेठ १३ मा नबिल बैङ्कको सोही खातामा १ लाख ३० हजार जम्मा गरिएको थियो । २०७३ मङ्सिर २२ मा बौआलालले विराटनगरको १ कठ्ठा जग्गा बिक्री गरेर एकमुष्ठ १८ लाख रुपैयाँ जम्मा गरिदिए ।
बौआलाल ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानूनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रङ्गेली पुगे । प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार ग¥यो । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगे, त्यहाँ पनि जाहेरी दर्ता भएन ।
बौआलाल जिल्ला सरकारी वकिलको कार्यालय पुग्दा पनि जाहेरी दर्ताका लागि प्रहरीलाई आदेश दिइएन । बौआलालले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझे पनि ठगीमा अनुसन्धान अगाडि बढाइएन । त्यसपछि बौआलाल अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका हुन् । उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले भदौ ३१ गते अनिलविरुद्ध जाहेरी दर्ता गरी कानूनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको थियो । त्यसपछि प्रहरीले जाहेरी दर्ता गरेर पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी ग¥यो । पक्राउ पुर्जी जारी भएको चार दिनपछि गत पुस २५ गते पोखरेल आफै मोरङ प्रहरीमा उपस्थित भएका थिए ।