विराटनगर, २२ चैत । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा पाँचथरका डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । लोक्सोम यसअघि योजना आयोगको सदस्य थिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई नियुक्त गरेको हो ।
आयोगका अन्य सदस्यहरूमा संखुवासभाका डा. ज्ञानेन्द्रबहादुर कार्की, सुनसरीका नारायण कोइराला, भोजपुरका प्रकाश राई र मोरङकी अञ्जु खड्कालाई नियुक्त गर्ने निर्णय गरिएको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेलाई सरकारको प्रवक्ता तोक्ने निर्णय पनि गरेको छ । यस्तै प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय भएकाे छ । मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतलाई हटाउने निर्णय गरेको छ ।
उनीहरूलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले नियुक्त गरेको थियो । बैठकले सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री घिमिरेले जानकारी दिए ।
उनका अनुसार बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।