काठमाडौं, ९ फागुन । बैंकिङ कसुरको आरोपमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् ।
काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालन अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।
चेक बाउन्स भएपछि व्यवसायी टंक शमशेर जबरा र सञ्जय अधिकारीले दिएको उजुरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । अग्रवालले व्यवसायी जबरालाई डेढ करोड र अधिकारीलाई ५० लाख रुपैयाँको चेक दिएका थिए । चेक बाउन्स भएपछि उनीहरूले अग्रवालविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
तीन दिनअघि पक्राउ परेका अग्रवाललाई थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बैंकको ऋण तिर्न नसकेपछि इन्भेष्टमेन्ट र एभरेष्ट बैंकले अग्रवालको पसलमा सिल गरेका थिए ।
बैंकले पसल सिल गरेपछि अग्रवाल परिवारसहित २२ पुसमा फरार भएका थिए । फरार भएको समाचार बाहिर आएपछि अग्रवाल २७ माघमा काठमाडौं फर्किएका थिए ।