विराटनगर, २२ माघ । प्रदेश १ को मन्त्रीपरिषदले आइतबार पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबिच भागवण्डामा सहमति जुटेपछि मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् ।
प्रदेश १ को सत्ता गठबन्धनमा नेपाली कांग्रेस, मओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी र संयुक्त लोकतान्त्रीक राष्ट्रिय मञ्च आवद्ध छन् । मुख्यमन्त्री राई निकट स्रोतका अनुसार आइतबार ११ बजेसम्म मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरिएको छ ।
स्रोतका अनुसार गठबन्धनमा आवद्ध नेपाली कांग्रेसले अहिले रहेको मन्त्रालयसहित पाँच, माओवादी केन्द्रले तीन र एकिकृत समाजवादीले मुख्यमन्त्रीसहित तीन मन्त्रालय लिने सहमति जुटिसकेको छ ।
‘१२ सदस्यीय मन्त्रीपरिषद बन्ने टुंगो लागि सकेको छ ।’ मुख्यमन्त्री राई निकट स्रोतले भन्यो,‘भोलि ११ बजेसम्म मन्त्रीमण्डल विस्तार हुन्छ ।’ आइतबार नियुक्त हुने मन्त्रीहरुको सपथग्रहणको तयारी समेत भइसकेको स्रोतले जनाएको छ ।