नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय प्रचार विभागले ‘नवयुग’ पत्रिकाको दैनिक ई-बुलेटिन प्रकाशनलगायत कार्यक्रम अघि सारेको छ ।
‘नवयुग’ एमालेकाे मुखपत्र हो । विशेष बुलेटिनमा पार्टीका शीर्षनेताका अन्तर्वार्ता, लेख, विचार, महाधिवेशनकेन्द्रित गतिविधि समेटेर महाधिवेशन अवधिभर हरेक दिन साँझ प्रकाशन हुने विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
एमालेले पार्टीको आधिकारिक फेसबुकबाट दैनिक शीर्षनेताको प्रत्यक्ष भिडियो अन्तर्वार्ता पनि राख्न थालेकाे छ । विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व र कलाकारबाट महाधिवेशनलाई प्राप्त भिडियो सन्देशको प्रसारण पनि एमालेले गर्दै आएको छ ।
केन्द्रीय सदस्य थापाले प्रचारकै क्रममा यही ७ मंसिरमा युवा संघ नेपाल, अनेरास्ववियु, खेलकुद महासंघलगायत संगठनको आह्वानमा काठमाडौँबाट चितवनसम्म र देशैभरि मोटरसाइकल र्याली गरिने बताए ।
यसैगरी पार्टीका संस्थापक महासचिव पुष्पलाल, तत्कालीन महासचिव मदन भण्डारी र तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको जीवनी र योगदानमा आधारित भिडियो पनि बनाइने भएकाे छ । साथै विभागले देशका महत्त्वपूर्ण स्थानमा प्रचारका डिजिटल डिस्प्ले, बोर्ड राख्ने तथा पार्टीका अध्यक्ष केपी ओलीसँग वरिष्ठ पत्रकार तथा बुद्धिजीवीसँग अन्तर्क्रिया गर्नेलगगायत योजना तय गरेको छ ।
सो पार्टीले सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईको संयोजत्वमा महाधिवेशन प्रचार समिति गठन गरेको छ । एमालेको महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।