एजेन्सी, १४ असोज । भारतमा दुई वर्षयता छ महिना बिराएर किसानहरू आन्दोलनमा उत्रिँदै आएका छन् । विभिन्न माग राखेर सडक आन्दोलन गर्दै आएका भारतीय किसानहरू गत सातादेखि पुन: देशव्यापी आन्दोलनमा उत्रिएका छन् ।
भारत सरकारले गत वर्ष कृषिसम्बन्धी तीनवटा विधेयक पारित गरेपछि त्यहाँका किसान देशव्यापी आन्दोलनमा उत्रिएका थिए । किसानहरूले तीनवटै कानुन फिर्ता हुनुपर्ने माग राख्दै गतसाल एक महिनासम्म आन्दोलन गरेका थिए ।
गत वर्षको किसान आन्दोलन रोक्न सरकार र किसान नेताबीच सम्झौता भएको थियो । तर, उक्त सम्झौता अझैसम्म सरकारले कार्यान्वयन नगरेको भन्दै भारतीय किसानहरू पुनः आन्दोलनमा उत्रिएका हुन् । त्यहाँका किसानहरू गत सातादेखि भारत बन्द गरी आमहडतालमा उत्रिएका छन् ।
भारतका मुख्य शहरहरूमा किसानहरूले आज पनि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
भारतीय नरेन्द्र मोदी सरकारले भने भारतको विपक्षी दल कांग्रेससहित ११ राजनीतिक दलको उक्साहटमा किसानहरू आन्दोलनमा उत्रिएको आरोप लगाउँदै आएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले भने प्रतिपक्षी दल कांग्रेसले आफ्नो स्वार्थका लागि आर्थिक प्रलोभनमा पारी किसानलाई उचालेर आन्दोलन गर्ने बाध्य बनाइरहेको आरोप लगाएको छ ।