विराटनगर, २१ असार । विभिन्न सामाजिक काममा अग्रसर विराटनगरको सामाजिक संस्था परिवर्तनका लागि हातेमालो अभियानले सञ्चालन गरेको निशुल्क खाना अभियान सकिएको छ ।
विराटनगरस्थित कोशी अस्पताल परिसरमा कोरोना माहामारीका कारण समस्यामा परेका विरामी र विरामीका आफन्तलाई लक्षित गरि सुरु गरिएको अभियान निषेधाज्ञा खुकुलो भएसँगै अभियान रोकिएको हो ।
परिवर्तनका लागि हातेमालो अभियानले सञ्चालन गरेको निशुल्क खाना अभियान ५१ औँ दिनमा सकिएको अध्यक्ष बिनोद चाहारले जानकारी दिए ।
‘समाज परिवर्तन युवाको काँधमा’ भन्ने मुल नाराका साथ विगत ४ वर्षदेखि समाज परिवर्तनका निम्ति अभियानमा जुटेको युवा हरुको टिम परिवर्तनका लागि हातेमालोले समाज परिवर्तनका निम्ति विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
हातेमालोले कोरोना माहामारीका कारण भोक र रोगले समस्यामा परेकालाई विराटनगरस्थित वशिष्ठ डेभलोप्मेन्ट प्रा.लि.को सहकार्यमा सञ्चालनमा ल्याएको खाना अभियान ५१ औँ दिनमा समापन गरिएको हो ।
खाना अभियानको ५१ औं दिनमा कोसी अस्पतालमा २ सय ३० जनालाई चिकेन बीरयानी खुवाएर संस्थाले निःशुल्क भोजन अभियान लाई बन्द गरेको अध्यक्ष चाहारले बताए ।
सो संस्थाले वशिष्ठ डेभलोप्मेन्ट प्रा.लि.सँगको सहकार्यमा सुरु गरिएको अभियानमा आफूलाई फ्रन्ट लाइन राखेर काम गर्दै आएको छ । संस्थाले कोसी अस्पतालमा पीसीआर परिक्षण गर्ने ठाउँमा ५ देखि ७ जना युवाको टोलीलाई विगत ४५ दिन देखि स्वयमसेवीको रूपमा खटाउँदै आएको छ । त्यस्तै ६ हजार घरधुरीलाई स्यानिटाइजरसमेत वितरण गरिएको वशिष्ठ डेभलोप्मेन्ट प्रा.लि.का सञ्चालक विमल भट्टराईले बताए ।
संस्थाका अध्यक्ष विनोद चहारले आगामी दिनमा समाजका निम्ति जस्तोसुकै परिस्थितिमा पनि परिवर्तनका लागि हातेमालो पछि नहट्ने र समाज सेवामा लागि रहने बताए ।
उनले विषम परिस्थितिमा आफ्नो ज्यानको कुनै प्रवाह नगरी फ्रन्ट लाइनमा रहेर युवाहरु खटिएपनि युवाहरुलाई स्थानीय एवम् प्रदेश सरकाले समेत कुनै वास्ता नगरेको गुनासो गरे ।
अध्यक्ष चाहरले यस्तो कुराले सम्पूर्ण सामाजिक काममा खटिएका युवामा बितृष्णा पैदा हुने भएकाले सरकारले समेत सहयोग गर्नुपर्ने बताए । ‘कोही पनि घर बाहिर ननिस्की रहेको बेलामा पनि काही युवा संक्रमित को घर घर गएर स्यानिटाइजर गर्छन्, काही युवा संक्रमणबाट मृत्यु भएका व्यक्तिो लास उठाउँछन्, कोही खाना बोकेर खाना खुवाउँदै हिड्छन ।’ उनले भने,‘यस्ता अभियन्ताहरुलाई सरकारले साथ, सहयोग र हौसला प्रदान गर्नु पर्ने हो । कुनै वास्ता छैन ।’
उनले अब कोरोना माहामारीसँग बाढीको विपदको बाढी पीडितको सहयोग, राहत र पुनस्र्थापनामा आफुहरु केन्द्रीत हुने बताए । अध्यक्ष चाहारले अभियानमा सहयोग पुर्याउने सवैप्रती अभार प्रकट गर्दै समेत गरेका छन् ।