काठमाडौं, ७ जेठ । सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई खारेज गर्दै प्रधानमन्त्रीको नेतृत्वमा कोभिड-१९ निर्देशक समिति गठन गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ लागू भएसँगै ईश्वर पोखरेल संयोजक रहेको सीसीएमसी खारेज भएको छ भने अब कोरोना नियन्त्रणका लागि सम्पूर्ण काम प्रधानमन्त्रीको अध्यक्षतामा रहने कोभिड-१९ निर्देशक समितिले गर्ने छ ।
अध्यादेशमा कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीका अध्यक्षतामा १० सदस्यीय निर्देशक समितिसमेत गठन गरिने उल्लेख छ । समितिका सदस्यमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहने व्यवस्था गरिएको छ ।