प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुई तिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गरेका छन् ।
‘मलाई हटाउन सजिलो छैन । यदि कसैले हटाउन सक्छ भने हटाओस् खुसीसाथ हट्छु । तर, आउँदो चुनावमा दुई तिहाइका साथ फेरि सिंहदरबार फर्कन्छु,’ प्रधानमन्त्री ओलीले भने ।
मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले प्रधानमन्त्रीबाट कसैले हटाइहाले पनि अर्को चुनावमा दुई तिहाइ मत ल्याउने दाबी गरेका हुन् । तर, आफूलाई हटाउन सजिलो भने नभएको उनले बताए ।
आफूले कुनै पदका लागि मुद्दा नलडेको भन्दै प्रचण्ड-माधव समूहलाई व्यंग्य पनि गरे । आफू राजनीति गर्ने व्यक्ति भएकाले न्याय माग्न जनतामाझ जाने र जनताले न्याय दिने उनले बताए ।
‘म राजनीति गर्ने मान्छे हो । म माग्न जाँदा, दरखास्त हाल्न जाँदा, निवेदन हाल्न जाँदा तपाईं (जनता) सामु आउँछु,’ उनले भने, ‘ममाथि अन्याय भयो भने तपाईंहरूले न्याय दिनुहुन्छ । मैले भनिरहेको छु कि मलाई कसैले हटाउन सक्छ भने हटाओस् । तर सजिलो छैन । ’
उनले प्रतिनिधिसभा विघटनलाई खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको २३ फागुनपछि प्रतिनिधिसभाको बैठकमा परीक्षण हुने बताए । ‘अब प्रतिनिधिसभा कसरी अगाडि जान्छ ? देशको राजनीति कसरी अगाडि जान्छ ? अदालतको फैसलाको मूल्यांकन परिणामले गर्नेछ । मेरो काम त प्रधानमन्त्रीको हिसाबमा अदालतको फैसला मानेर त्यसलाई कार्यान्वयन गर्ने हो,’ उनले भने ।
अर्काका लागि कम्फटेबल सरकार नभई नेपाल र नेपाली जनताका लागि कम्फटेबल सरकार चाहिएको भन्दै उनले आफूले देश र जनताको पक्षमा काम गरेको र गरिरहने प्रतिवद्धता जनाए । प्रधानमन्त्री ओलीले आफू देश बिगार्ने तगारा पन्छाएर अघि बढ्ने र त्यो क्षमता नेपाली जनताले राख्नुपर्ने बताए ।