कोभिड–१९ बाट संक्रमित भई उपचाररत नेपाली कांग्रेसका नेता एवं संघीय सांसद मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनले आज एक विज्ञप्ति जारी गर्दै ३६ दिनको अस्पताल बसाइँ र १६ दिनको घर बसाइँपछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार आए पनि अझै लगातार बोल्न र हिड्न कठिन रहेको जानकारी गराएका छन् ।
कोभिड–१९ बाट संक्रमित भई स्वास्थ्यमा समस्या आएपछि उनी गत ९ कात्तिकमा वीर अस्पताल र स्वास्थ्य अवस्था झन जटिल भएपछि ११ कात्तिकमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए । नेता विश्वकर्माले आफ्नो स्वास्थ्य उपचारमा संलग्न, सहयोग र चिन्ता व्यक्त गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, कांग्रेसका नेता कार्यकर्ता, मन्त्री, विभिन्न दलका नेतालगायत शुभेच्छुक सबैमा आभार व्यक्त गरेका छन् । साथै सरकारले थप उपचारका लागि गरेको प्रयास र योगदानले आफूलाई भावुक बनाएको उनले उल्लेख गरेका छन् ।