काठमाडौंं, १० मंसिर-सरकारले सगरमाथाको उचाइ घोषणा गर्न स्वीकृती दिएको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको हो ।
२०७२ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।
मन्त्रिपरिषद्बाट स्वीकृती प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रूपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्ने जनाएको छ ।
सन् २०१९ मा चीनका राष्ट्रपती सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्तरूपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरूपमा काम गरेका थिए ।
यसअघि विभिन्न देशहरूले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ हालसम्म कायम रहिआएको छ ।
आर्थिक वर्ष २०७४/७५ बाट सुरु भएको सगरमाथाको उचाइ मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रूपमा घोषणाको तयारी गरेको मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
‘सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाइ मापन गरेको छ । अब हामी आफैँले नापेको सगरमाथाको उचाइ औपचारिक रूपमा घोषणा गर्ने चरणमा आइपुगेका छौँ,’ उनले भनिन् ।