एजेन्सी, ९ कात्तिक-युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । पञ्जाबले सनराइजर्स हैदराबादलाई १२ रनले पराजित गरेको हो ।
दुबईमा गएराति भएको खेलमा पन्जाबले दिएको १ सय २७ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १४ रनमा समेटियो । हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाए भने विजय शंकरले २६, जोनी बेयरस्टोले १९ र मनिस पाण्डेले १५ रन बनाए । पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३–३ विकेट लिए भने मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।पन्जाबका लागि निकोलस पुरनले अविजित सर्वाधिक ३२ रन बनाए भने कप्तान केएल राहुलले २७, क्रिस गेलले २०, मन्दिप सिंह १७, र ग्लेन म्याक्सवेलले १२ रन बनाएका थिए ।
पन्जाबलाई सस्तैमा समेट्न हैदराबादका राशिद खान, सन्दीप शर्मा र जासन होल्डरले २–२ विकेट लिए ।जितसँगै पन्जाबले हैदराबादसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा पन्जाब ६९ रनले पराजित भएको थियो । जितसँगै पन्जाबले ११ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा उक्लिएर प्ले अफ सम्भावना जीवित राखेको छ । हैदराबाद ११ खेलमा ८ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ ।