ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रूपमा पूजाआजा गर्ने प्रचलन छ । ब्रम्हचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्यजस्तो परम पदमा पुग्न सकिने कुरा शास्त्रहरूमा उल्लेख छ ।
सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव जीवन सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रूपमा चर्चा गरिएको छ ।
माता पार्वतीको यो रूपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवतलगायतका ग्रन्थहरूमा उल्लेख छ । ब्रह्मचारिणी देवीले एक हातमा कमल धारण गरेकी छन् भने दोस्रो हातमा कमण्डलु लिएकी छन् ।
कमलले सच्चिदानन्द ब्रहमस्वरुप संकेत गर्दछ भने कमण्डलुले वरदान र आशीर्वादको अर्थ संकेत गरेको छ । देवी ब्रहमचारिणीको पूजाआराधना गर्न भक्तजनहरू आज बिहानैदेखि मुलुकका विभिन्न शक्तिपीठ, देवीमन्दिरमा भेला भएका छन् ।
घरघरमा स्थापित दसैँघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरूको वाचन श्रवणको क्रम पनि चलिरहेको छ ।