बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ । जसअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णयबमोजिम आजै ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ ।
जिल्ला आयोजना कार्यान्वयन एकाइले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउने छ भने जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ ।
प्रदेशसभा सदस्य सरेश नेपाल, पूर्वसांसद सुवास कर्माचार्यसहितको टोली स्थलगत भ्रमण गरी स्थानीयवासीसँग छलफल गरेका थिए । आइतबार विहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी खटिएर टेन्ट जडान तथा सुरक्षाको प्रबन्ध मिलाउने श्रेष्ठले बताए । ९ दिनअघि जुगल–२ लिदीको लामागाउँ पहिरामा बेपत्ता भएकामध्ये ३२ को शव फेला परेको छ भने ७ अझै बेपत्ता छन् । – रासस