काठमाडौं, १ भदौ-महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलबाटै समाधान खोज्ने निष्कर्ष निकाल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । सोमबार बिहान बालुवाटार बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको इच्छाअनुसार गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले कार्यदलका लागि कार्यदेश पनि तय गरिदिएको छ । ओली र प्रचण्डले पार्टीभित्रको विवाद समाधानमा समन्वयकारी भूमिका खेल्न भन्दै गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल बनाएका थिए ।