मस्को, साउन २७–रुसले विश्वको पहिलो कोरोना भ्याक्सिनलाई स्वीकृत गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिनलाई स्वीकृत गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मस्कोको गामालेया इन्ष्टिच्युटले तयार गरेको कोरोना विरुद्धको भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको हो । यससँगै रुसी भ्याक्सिन मानव प्रयोगका लागि स्वीकृत हुने पहिलो कोरोना भ्याक्सिन बनेको छ ।
राष्ट्रपति पुटिलले मंगलबार सरकारका मन्त्रीहरुलाई सम्बोधन गर्दै कोरोना भाईरस विरुद्धको भ्याक्सिन दर्ता भएको बताएका थिए । अब रुसमा कोरोना विरुद्धको सो भ्याक्सिन प्रयोगमा ल्याइने जनाइएको छ भने धेरै मात्रामा संक्रमितहरुलाई भ्याक्सीन दिन सुरु गरिने जनाइएको छ ।
यसैबिच रुसी राष्ट्रपति पुटिनकी छोरीलेसमेत कोरोना भाइरसको भ्याक्सिन लगाएको बिबिसिले जनाएको छ । रुसले विकास गरी दर्ता गरेको विश्वकै पहिलो कोरोना भ्याक्सिनको प्रयोग राष्ट्रपतिकै छोरीमाथि पनि भएको हो ।
पुटिनले आफ्नी एक छोरीले नै खोप लगाइसकेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पुटिनका दुई छोरी छन् । मारिया पुटिना र याकाटेरिना पुटिनामध्ये कस्ले भ्याक्सिन लगाए यकिन भने भएको छैन ।
पुटिनले छोरीले दुई दिन लगातार भ्याक्सिन परीक्षणका क्रममा लगाएको खुलाएका छन् । पहिलो दिन भ्याक्सिन लगाउँदा ज्वरो बढेर १००.४ फरेनहाइट कटेको र विस्तारै झरेको जानकारी दिए । दोस्रो ज्वरो ९८.६ फरेनहाइट पुगेको थियो । दोस्रो पटक पनि केही तापक्रम बढेपनि झरेको थियो ।अहिले आफ्नी छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको पुटिनले बताएका छन् ।