काठमाडौं, २ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार पटकपटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकअघि बिहीबार ओली र प्रचण्डबीच विभिन्न विषयमा छलफल भएको थियो । छलफलमा कुनै सहमति नभए पनि बैठक नरोकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाले जानकारी दिए । ‘अध्यक्षद्वयबीच छलफल जारी छ, शुक्रबार पुनः छलफल हुन्छ तर पहिला निर्धारण गरिएको बैठक रोकिँदैन,’ थापाले भने ।
ओली-प्रचण्डबीच भएको छलफलमा पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालसमेत सहभागी थिए । उनी स्थायी कमिटी बैठक बस्नेमा सहमत भएका छन् ।
स्थायी कमिटीमा प्रस्तुत कार्यसूचीमा हुने छलफललाई कसरी व्यवस्थित र मूर्त रूप दिने विषयमा नेताबीच छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।