काठमाडौं, २० असार-आज बिहान बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज स्थायी कमिटी बैठक स्थगित भएको छ ।बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे बैठक सोमबारसम्मका लागि स्थगित गरिएकाे हो ।
बिहीबार पनि केही समय बैठक बसेर आजसम्मका लागि स्थगित गरिएको हो । पार्टीभित्र देखिएको आन्तरिक विवाद मिलाउनका लागि आजको बैठक स्थगित गरिएको बताइएको छ ।
केही स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि अहिले नेकपाभित्रको विवाद झन् बढेको छ । विवाद सामाधानका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रधानमन्त्री ओलीले आज पनि छफल गर्ने बताइएको छ ।
शुक्रबार पनि दुबै अध्यक्षबीच विवाद समाधानका लागि छलफल भए पनि कुनै निष्कर्श निस्केको थिएन । शनिबार बस्ने ओली-प्रचण्डबीचको छलफलले ठोस निष्कर्श निकाल्ने आशा गरिएको छ ।
यसैबीच, प्रधानमन्त्रीसँगको छलफलमा बस्नुअघि प्रचण्डले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग कुराकानी गरेका छन् । स्रोतका अनुसार उनीहरूबीच अहिले प्रचण्ड निवास खुमलटारमा छलफल भइरहेको छ ।
छलफलमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पनि सहभागी छन् । उनीहरूबीचको छलफल सकिए लगत्तै प्रचण्ड प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न वालुवाटार आउने बताइएको छ ।