एजेन्सी, असार ९-अभिनेता सुशान्त सिंह राजपूतको आत्माहत्यापछि बलिउड निकै विवादित बनेको छ । सुशान्तको आत्माहत्याको कारण बलिउडकर्मी नै भएको भन्दै ८ जनाविरुद्ध फौजदारी मुद्दा दर्ता भइसकेको छ ।
बलिउडमा बढ्दो नेपोटिजम, ग्रूपीजम जस्ता कुराबाट सुशान्त दिक्क भएका थिए । धेरैले उनलाई बहिष्कार गरेका थिए । जसका कारण उनी डिप्रेशनको शिकार भए र आफूलाई अन्त्य गरे ।
सुशान्तको परिवार तथा शुभचिन्तकले भने सुशान्तको मृत्यु रहस्यमय भएको भन्दै छानबिनको माग गरेको छ । पोष्टमार्टम रिपोर्टमा सुसाइड देखिए पनि मुम्बाई प्रहरीले पनि यस विषयमा थप अध्ययन गरिरहेको छ ।
यस्तैमा बलिउड चलचित्र निर्माता विजय शेखर गुप्ताले सुशान्तको आत्माहत्याको विषयलाई लिएर चलचित्र बनाउने घोषणा गरेका छन् । ‘सुसाइड और मर्डर’ नाम राखिएको यस चलचित्रमा सुशान्तले करिअरमा भोग्नु परेको उत्तर-चडाव र डिप्रेशनको विषयलाई देखाइने छ ।
शमिक मौलिकले निर्देशन गर्ने यस चलचित्रको मोसन पोस्टर पनि सार्वजनिक भइसकेको छ । चलचित्रको पटकथा तथा संवाद राकेश कुमारले लेखिरहेका छन् । चलचित्रको छायांकन छिट्टै सुरु हुने बुझिएको छ ।