बुटवल, २८ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा रहेको गंगादेवी पशु फार्ममा सोमबार राती हत्या भएका ५ जनाको अझै पोष्टमार्टम हुन सकेको छैन ।
मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै पोष्टमार्टमका लागि अनुमति नदिँदा पोष्टमार्टम हुन नसकेको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए ।
मंगलबार अबेरसम्म मृतकका आफन्तसँग पोष्टमार्टमका लागि सहमति माग गर्न प्रयास गरे पनि सफल हुन सकेन । एसएसपी बैदवारले बुधबार पोष्टमार्टम गर्ने तयारी भइरहेको बताएका छन् । घटनाबारे थप अनुसन्धानसमेत भइरहेको र यथार्थ केही दिनमै बाहिर आउनेसमेत उनले बताए ।
प्रहरीले पाँचै जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखेको छ । मंगलबार घटनास्थलबाटै मृतकका परिवार र आफन्तले क्षतिपूर्तिको माग गर्दै शव उठाउन दिएका थिएनन् । तर, जनप्रतिनिधीहरूले क्षतिपूर्तिका लागि प्रतिबद्धता जनाएपछि शव उठाउन दिइएको थियो ।