२०७३ मा आरक्षबाट १२ वटा र जावलाखेल चिडियाखानाबाट ३ वटा अर्ना ल्याइएका थिए । त्यतिबेला ३ भाले र १२ पोथी ल्याइएका थिए । त्यही वर्ष आएको बाढी अर्ना राखिएको क्षेत्रमा पसेपछि केहीलाई बगाएको थियो भने बचेका अर्ना बिरामी परेका थिए । त्यसै वर्ष १५ मध्ये ६ वटा मरेका थिए ।
चिडियाखानाका सबै र कोशी टप्पुबाट ल्याइएका ३ वटा मरेका थिए । ४ वटा बच्चा थपिएर हाल सो क्षेत्रमा १३ वटा अर्ना रहेका छन् । तीमध्ये ७ वटा माउ पोथी र २ वटा भाले माउ रहेका छन् । पछि जन्मिएका बच्चामध्ये ३ वटा भाले र एउटा पोथी छ ।
४ वर्ष बितिसक्दा ७ वटा पोथीबाट ४ वटा बच्चा मात्र जन्मिएका छन् । तत्कालीन समयमा ५ भालेसहित २५ अर्ना ल्याउने भनिएको भए पनि ल्याउन सकिएको छैन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार कोशीका जस्ता मोटा हुन नसके पनि स्वस्थ रहेका छन् ।
खुल्ला नछाडिएकाले पनि मोटा हुन नसकेको हुनसक्ने उनको भनाइ छ । भर्खरका उमेरका भएको र वातावरण फरक पर्नु अर्को कारण हुनसक्ने श्रेष्ठ बताउँछन् । नियमित दाना दिइएको, औषधिउपचार भइरहेको भन्दै उनले राखिएको क्षेत्रफल बढेपछि केही फरक आउन सक्ने बताए । उनले ती अर्ना कोशी टप्पुका जस्ता नभएर घरमा पालेका भैँसीजस्ता देखिएको जानकारी दिए । अहिले पनि केही अर्ना ब्याउने भएकाले विस्तारै सङ्ख्या बढ्दै जाने उनको भनाइ छ ।
निकुञ्जको पूर्वी क्षेत्र हेर्दै आएका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले खुला ठाउँमा बथानमा कुद्ने, चर्ने र कोशी नदीमा खेल्ने अर्ना यहाँ खुल्ला खोरमा रहेकै कारण त्यहाँको जस्तो मोटा हुन नसकेको बताए । उनले भने, ‘तर पनि त्यस्तो दुब्ला छैनन् ।’ बसिरहेको ठाउँ फरक हुँदा पनि मोटाउन नसकेको उनको भनाइ छ । ती अर्नामा बाढीका कारण रोग देखिएपछि बचाउनै कठिन भएको थियो । थप अर्ना ल्याउन भने नसकिएको उनको भनाइ छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार हाल भइरहेको खोरलाई करिब १५ हेक्टर थप गरी पानी र घाँसको प्रबन्ध गर्न लागिएको छ । यसअघि अर्ना राख्नका लागि ३० हेक्टरमा तारबार गरी व्यवस्थापन गरिएको छ । घोल थुनेर पानी ल्याउने तयारी गरिएको छ । यी जनावरलाई पानीमा खेल्नुपर्ने भएकाले थोरै पानीले नपुग्ने भन्दै उनले पानी र घाँसको प्रशस्त व्यवस्था गर्ने तयारीमा आफूहरू लागेको बताए । खुला परिवेशमा खेलेको, खाएकोजस्तो थुनेको ठाउँमा सम्भव नहुने उनको भनाइ छ ।
कम्तीमा ५० वटा बनाएर बथानमा छोड्न सकेमा बच्न सक्ने उनले बताउनुभयो । कोशी टप्पुमा बाघ नभएको तर यहाँ बाघ भएकाले बच्नका लागि राम्रो बथान जरुरी रहेको रुपाखेती बताउँछन् । अहिले भएको ठाउँ उपयुक्त भए पनि सर्वयुक्त नभएको भन्दै राम्रो बनाउन आफूहरू लागि परेको बताए । रासस