काठमाडाैं, २५ जेठ-बेलायत सरकारले कोरोना महामारीसँग जुध्न नेपाललाई थप आर्थिक सहयोग घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डीएफआइडी) मार्फत उक्त सहयोग गरेको हो ।
डीएफआइडीले कोरोना संक्रमण न्यूनीकरण र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेको छ । अब यसलाई बढाएर अहिले १ करोड पाउण्ड पुर्याइएको हो ।
हरेक वर्ष नियमित सहयोग गर्ने डीएफआइडीले भूकम्पका बेला जस्तै यसपटक पनि अलि बढी सहयोग गरेको लण्डनस्थित नेपाली राजदूतावासले जनाएकाे छ।
नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध भएको २ सय ५ वर्ष पुगेको छ । कोरोना महामारीका लागि थप सहयोगको अपेक्षा दूतावासले गरेको थियो ।
अहिले थप आर्थिक सहयोग प्राप्त भएको र गोरखा वेलफेयर ट्रष्टलगायतका संस्थाले गोरखा सैनिकलाई आवश्यक सहयोग पनि गरिरहेको दूतावासका प्रवक्ता शरदराज आरण बताउँछन् ।
थप आर्थिक सहयोगका लागि डीएफआइडीले नेपाललगायत केही विकासोन्मुख राष्ट्रहरूलाई एकमुष्ट १० करोड पाउण्ड छुट्याएको छ । डीएफआइडीले हालसम्म कोरोना रोकथामका लागि विश्वभर ८४ करोड ४० लाख पाउण्ड निकासा गरिसकेको छ ।