काठमाडौं, १२ जेठ-पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहलमा भारतमा कोरोना महामारीका कारण अलपत्र परेका नेपालीका लागि राहत वितरण गरिएको छ ।
विष्टले पठाएको आर्थिक सहयोगबाट ‘द वर्नईन नेपाल युथ क्लब, दिल्ली’ को संयोजनमा भारतको दिल्ली, उत्तरप्रदेश, महाराष्ट्र, राजस्थान लगायतका स्थानमा बसोबास गर्ने अलपत्र परेका नेपालीलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरिएको हो ।
कोरोना महामारीसँगै जारी लकडाउनका कारण भारतका विभिन्न ठाउँमा रहेका नेपालीको समस्या बढ्दो छ । कतिपय नेपाली कष्टपूर्ण यात्रा गर्दै सिमानासम्म आइपुगेका छन् भने धेरै नेपालीको दैनिकी झनझन कष्टपूर्ण बन्दै गएको छ ।
दुःखमा परेका नेपालीलाई लकडाउनको पहिलो चरणदेखि नै सहयोग संकलन गरि राहतस्वरूप खाद्यान्न र अन्य अत्यावश्यक सामग्री वितरण गर्दै आइरहेको क्लबका अध्यक्ष सुवास केसीले बताए ।