काठमाडौं, ७ जेठ-काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीका २ प्रहरीमा कोभिड-१९ सङ्क्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ । अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार १ जना प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई कोरोना देखिएको हो । त्यसपछि वृत्तलाई नै सिल गरिएको उनले जानकारी दिए ।
२ दिनअघि यहाँका १९ प्रहरीको पीसीआर परीक्षण गरिएकोमा २ जनामा कोभिड-१९ देखिएको थियो । यहाँ रहेका झण्डै ९२ सहित गरेर २ सय प्रहरीको परीक्षण गर्नुपर्ने आवश्यकता देखिएकाले सबैलाई क्वारेन्टाइनमा राखिएको पोखरेलले बताए ।
अग्रपङ्क्तिमा बसेर काम गर्ने प्रहरीमा कोभिड-१९ लाग्छ भन्ने कुरा स्वाभाविक आँकलन रहेकाले सङ्क्रमण हुँदैमा प्रहरी हतोत्साही नहुने उनले बताए । विषम परिस्थितिमा मुलुकमा सङ्क्रमण फैलिन नदिन प्रहरीले अझै दृढ विश्वासका साथ आफ्नो कर्तव्यमा खटिनेसमेत उनले बताए । रासस