काठमाडौं, ३० वैशाख-कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आईसोलेसन सेण्टर निर्माण गर्ने निर्देशिका तयार भएको छ । विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता र अन्तराष्ट्रिय अनुभवको अध्ययनबाट तयार भएको निर्देशिका स्वास्थ्य मन्त्रालयमा बुझाईएको सोसाइटी अफ् नेप्लिज आर्किटेक्टस (सोना)ले जनाएको छ ।
कोभिडको संक्रमण बढेसँगै क्वारेन्टाइन, आईसोलेसन लगायतका कक्षहरु स्थानीयतहदेखि केन्द्रिय तहसम्म निर्माण भएका छन् । तर, पूर्ण सुरक्षित आइसोलेसन तयार हुन नसकेको भन्दै सोनाले कोभिड आइसोलेसनको निर्देशिका मन्त्रालयमा बुझाएको सोनाका महासचिव सुरज खनालले जानकारी दिए ।
नेपाल एकेडेमी अफ् साइन्स एन्ड टेक्नोलोजी (नास्ट)सँगको सहकार्यमा सोनाले तयार पारेको निर्दे्शिकाका लागि वरिष्ठ आर्किटेक्ट, विज्ञ चिकित्सक, प्राविधिक परामर्शदाता इन्जिनियर लगायतको सामुहिक प्रयत्न रहेको सोनाका महासचिव खनालले जनाए ।
निर्देशिका तयार गर्नुअघि टोलीले डब्लु.एच.ओ, रोग नियन्त्रण तथा रोकथाम केन्द्र, राष्ट्रिय स्वास्थ्य सेवासहितका संस्थाका मापदण्ड र बंगलादेश, हङकङ, आर्किटेक्टहरुको एशियास्तरीय परिषद् लगायतले जारी गरेका निर्देशिकाकोे समेत अध्ययन गरेको थियो ।