जनकपुर, २२ वैशाख-सिरहा जिल्लामा राहत वितरणको विषयमा विवाद हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर र १३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घाइतेहरूको मिर्चैयास्थित १ अस्पतालमा उपचार भइरहेको छ । सिरहाको मिर्चैया नगरपालिका- ७ स्थित फूलबरियामा वडा अध्यक्ष रामकुमार यादवको नेतृत्वमा पुगेको प्रहरी टोलीमाथि राहत लिन पुगेकाहरूले ढुंगामुढा गर्न थालेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेर्दीले जानकारी दिए ।
यता, लकडाउनबाट समस्यामा परेका गरिब, विपन्नलाई कुनै वास्ता नगरी वडा अध्यक्षले आफ्नाे नजिकका व्यक्तिलाई मात्र राहत बाँडेको भन्दै विवाद भएको एक प्रत्यक्षदर्शीले बताए । मिर्चैया– ७ का वडाअध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समावेश गरेको असन्तुष्ट पक्षको आरोप छ ।
वडा अध्यक्ष यादवले कुनै पूर्वाग्रह नराखी निष्पक्ष तरिकाले वास्तविक विपन्न र गरिब परिवारलाई मात्र राहत वितरण गर्न खोज्दा विवाद सिर्जना गरिएको बताए । यसअघि मिर्चैया नगरपालिकाको अन्य वडाहरूमा पनि राहत वितरण गर्ने क्रममा विवाद भएको थियो ।