विराटनगर, बैशाख १७–आफुहरुसँग समन्वय नगरि टेन्डर आब्हान गरिएको भन्दै मोरङको रंगेली नगरपालिका–८ दर्वेशा स्थित महालक्ष्मि माध्यमिक विद्यालय व्यवस्थापन समितिले आपत्ती जनाएको छ ।
प्रदेश सांसद लिलाबल्लव अधिकारीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष मार्फत विद्यालयको मर्मतसम्हार र स्तरोन्नतीका लागि बजेट बिनियोजन भएपनि नगरपालिकाले विद्यालय व्यवस्थापन समितिसँग कुनै समन्वय नगरी एकलौटि ढंगबाट टेण्डर आव्हान गरेको भन्दै आपत्ती जनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर थापाले पे्रस विज्ञप्ती जारी गर्दै नगरपालिकाको उक्त कदमप्रती आपत्ती जनाएका हुन् । उनले विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीहरुले नगरपालिकालाई विद्यालय मर्मत सम्हार तथा स्तरोन्नतीका लागि सवै प्रकृयामा सहयोग गर्ने भएपनी सम्बन्धीत विद्यालयलाई कुनै जानकारी नदिइ टेण्डर निकालेको भन्दै आपत्ती जनाए ।
चालु आर्थिक वर्षमा प्रदेश सांसद लिलाबल्लव अधिकारीेले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष मार्फत सो विद्यालयका लागि १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेका थिए ।