सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी यतिबेला आन्तरिक किचलोबाट गुज्रिरहेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा महत्त्वपूर्ण अध्यादेश ल्याउनुअघि पार्टीमा छलफल नै नगरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही शीर्ष नेता असन्तुष्ट छन् ।
खासगरी पूर्वमाओवादी र पूर्वएमालेभित्र पनि माधव नेपाल खेमा ओलीको यो कदमप्रति रुष्ट देखिएका छन् । यही विवादलाई लिएर कतिपयले ‘नेकपा फुट्न’ लागेको अड्कलबाजी समेत गरेका छन् ।
अध्यक्ष प्रचण्डले अध्यादेशपछि पार्टीभित्र उब्जिएका विवादका विषयमा मंगलबार मात्रै माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र महासचिव विष्णु पौडेलसँग टेलिफोनवार्ता गरे । त्यसअघि उनले खुमलटारमा स्थायी कमिटी र केन्द्रीय समितिका केही सदस्यसँग भेट गरेका थिए ।
छलफलका क्रममा दीर्घकालीन महत्त्व राख्ने विषयमा प्रधानमन्त्रीले एकलौटी निर्णय गर्न थालेको भन्दै यसबारे विशेष छलफल गर्नुपर्ने बताएका स्रोतले बताएको छ ।