गृहमन्त्री रामबहादुर थापा बादलले जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्दै सृजनात्मक ढंगले कामकारबाही अघि बढाउन नवनियुक्त डिआइजीहरूलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा राज्यले विश्वास गरेर बढुवा र जिम्मेवारी प्रदान गरेको स्मरण गराउँदै इमान्दारीपूर्वक कर्तव्य पालना गर्न निर्देशन दिएका हुन् ।
उनले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाइमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी अग्रमोर्चामा रहेको उल्लेख गर्दै यसविरुद्धका रणनीति सफल लडाइँ जित्ने बताए ।
‘अहिले हामी कोरोना विरुद्धको लडाइँमा छौँ, यो लडाइँमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गर्नुपरिरहेको छ, हाम्रो रणनीति सफल भए हामीले यो लडाइँ जित्नेछौँ । लकडाउन र सामाजिक दूरीलाई प्रवाभकारी कार्यान्वयन गराउनुहोस, सिमानाको कडाइमा विशेष ध्यान दिनुहोस्’ उनले भने ‘जनतालाई कुनै समस्या भए तत्काल पुग्नुहोस् । सबै प्रदेशको आ-आफ्नै विशेषता छन्, त्यसलाई मनन् गर्दै काम गर्नुहोस् । प्रदेश सरकारसँग राम्रो समन्वय गर्नुहोस् ।’
गृहसचिव महेश्वर न्यौपानले पनि डिआइजीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै एक/दुई जना सुरक्षाकर्मीले सानो गल्ती गर्दा पनि ठूलो बढाईचढाई हुने गरेको भन्दै गल्ती नहोस् भनी विशेष चनाखो रहन प्रहरीलाई निर्देशन दिए । कार्यक्रममा आइजिपी र ३ जना एआइजी पनि उपस्थित रहेको थियो ।