नेपाली सेनाले मेडिकल सामग्री खरिदका लागि चीनको चिनियाँ सिनो फार्म इन्टरनेसनल कम्पनीसँग सम्झौता गरेको छ । चीनबाट ल्याउने भनिएको ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सिनो फार्मसँग सेनाले २ अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता गरेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।
मंगलबार सैनिक मुख्यालयले भिडियो कन्फरेन्समार्फत् मेडिकल सामग्री खरिदको सम्झौता गरेको बताएको हो । मेडिकल साम्रगी खरिदअन्तर्रगत व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) एन ९५ मास्कलगायत ३ सय ४२ टन स्वास्थ्य सामग्री सेनाले ल्याउनेछ ।
यसरी सम्झौता भएकाे सामग्रीमध्ये अतिआवश्यक मेडिकल सामग्री एक हप्ताभित्र नै काठमाडाैं आइपुग्नेछ । उक्त मेडिकल सामग्री चिनियाँ कम्मनीले ग्वान्जाओमा उपलब्ध गराउने प्रवक्ता पाण्डेले बताए । यसरी उपलब्ध सामग्रीमध्ये आवश्यकता हेरेर हवाई र स्थलमार्ग हुँदै ल्याउने तयारी सेनाको छ । स्थलमार्गबाट ल्याए ग्वान्जाओ हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका आइपुग्न १ साताको समय लाग्छ ।