काठमाडौं, ३ वैशाख-महानगरीय प्रहरी अपराध महाशाखाले न्यायिक हिरासतमा रहेका व्यापारी सुलभ अग्रवालको विषयमा विशेष अनुसन्धान गरिरहेको छ ।२५ चैत २०७६ मा पक्राउ परेका शंकर ग्रुपका निर्देशकसमेत रहेका अग्रवाललाई मंगलबार थप ५ दिनको लागि जिल्ला प्रशासनबाट अनुसन्धानको लागि थुनामा राख्न म्याद थप गरिएको हो । उनलाई अधिकतम् २८ दिनसम्म प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न सक्छ ।
दोस्रोपटक म्याद थप गरेपछि उनको व्यापारिक कनेक्सन, भन्सार तिरेर ल्याएको सामान र आएको पूर्ण सामानलगायतका विषयमा अनुसन्धान केन्द्रित गरिएको छ । ‘त्यस समयमा ल्याएको सामान के-के थियो, कहाँ बेचियो, कस-कसले सामान लिएका हुन्लगायतका विषयमा हामी विस्तृत अनुसन्धानमा लागेका छौँ’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने ।
अहिलेसम्म उनले १२ सय थान थर्मल गन ल्याएको नै दाबी गरेका छन् । उनको नाममा १२ सय थान नै आएको भन्सार प्रमाणपत्र देखिएको प्रहरी अधिकारीले बताएका छन् । सुरुवतामा न्युरोडबाट थर्मल गन किनेको बताउने अग्रवालले पछिल्लो बयानको क्रममा भने चीनबाट ल्याएको स्वीकार गरेका छन् । ‘पहिले न्युरोडबाट किनेको थर्मल गन भएको र मूल्यमा पनि १०/२० प्रतिशतभन्दा बढी नाफा नलिएको बताउनु भएको थियो तर अहिले चीनबाट ल्याएको स्वीकार गर्नु भएको छ’ ती प्रहरी अधिकारीले भने ।