काठमाडौं, २९ चैत-सरकारले ७ दिनयता कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ७ दिनयता कुनै पनि नयाँ संक्रमण नभेटिएको बताएका हुन् । उनले प्रत्येक दिन ७-८ सयभन्दा बढीको परीक्षण भइरहेको तर नयाँ संक्रमण फेला नपरेको बताए ।
यस्तै, परीक्षणको दायरा बढाउन शनिबारदेखि काठमडौंको वीर अस्पतालबाट समेत परीक्षण सुरु गरिएको उनले बताए । उनले आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुबाट समेत परीक्षण सुरु हुने बताए ।
अहिलेसम्म नेपालभर स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा ८ हजार ८२ जना रहेको उनले जनकारी दिए । क्वारेन्टाइनमा बसेका सबैको र्यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उनले बताए ।