काठमाडौं, २८ चैत-नेपाल निर्माण व्यवसायी महासंघले प्रत्येक प्रदेश सरकारलाई कोरोना भाईरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १३ लाखका दरले जम्मा ९१ लाख सहयोग गरेको छ ।
सबै निर्माण व्यवसायीहरूको निर्माण कार्यको बिलबाट कट्टागरि जम्मा भएको निर्माण व्यवसाय विकास परिषद्अन्तर्गत रहेको निर्माण व्यवसायी कोषबाट खर्च हुने गरि कोरोना भाइरस (कोभिड-१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सात वटा प्रदेश सरकारलाई उक्त रकम सहयोग गर्ने निर्णय भएको हो । यो सहयोग रकम महासंघ अन्तर्गतका प्रदेश निर्माण व्यवसायी महासंघको अनुरोध र समन्वयमा भएको हो ।
यसअघि पनि महासंघले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो । यसरी दुई पटक गरि महासंघले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जम्मा १ करोड ९१ लाख रूपैयाँ सहयोग गरेको महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महासंघअन्तर्गतका प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघ र एशोसिएट निर्माण व्यवसायी फर्म कम्पनी सदस्यहरूलाई देशभर आआफ्नो ठाउँबाट स्वास्थ्य सुरक्षा अपनाई यस कोरोना भाइरसका कारण समस्यामा परेकालाई राहत र यसको रोकथामको लागि सक्दो सहयोग गर्न समेत महासंघ अनुरोध गरेको छ ।