प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) परीक्षणको दायरा बढाउन आग्रह गरेको छ । कांग्रेसले छिमेकी राष्ट्र चीनको सफलताबाट पाठ सिकेर अन्य देशको झैँ व्ययावहको स्थितिको प्रतीक्षा नगर्न आग्रह गरेको छ ।
कैलालीका एक स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिएर परीक्षणलाई व्यापक बनाउन कांग्रेस आग्रह गरेको हो । कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि कांग्रेस सरकारलाई अझै साइत कुरेर नबसी व्यापक परीक्षण गर्ने शनिबार विज्ञप्ति निकाल्दै आग्रह गरेको हो ।
‘सरकारलाई हाम्रो अपिल छ यसअघि संक्रमित देखिएका सबैको परिवारजन छरछिमेकी र घुलमिल भएका साथी समूहको परीक्षण परीक्षण परीक्षण तत्काल तत्काल र तत्काल गरौँ’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रूपमका क्वारेन्टाईनमा बस्न कडाइका साथ सूचना जारी गरौँ र सबै स्थानीय तह र स्थानीय प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गरौँ ।’
हेलचेर्क्याईंले समुदायमा कोरोना भाइरस फैलिए परिणाम भयावह हुने भन्दै समयको गम्भीरताअनुरूप सरकारले गति लिन कांग्रेसले आग्रह गरेको छ ।