कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’का कारण जनकपुरधामबासीले आ–आफनो घरमै चैती छठ मनाएका छन् । चैती छठ तलाउ, पोखरी लगायतका जलाशयमा छठघाट तयार पारेर सामूहिक रूपमा पूजाअर्चना गरेर मनाइने चलन छ ।
तर, याे वर्ष भने प्रशासनको दवावमा महिलाहरूले जलाशयमा नगएर आ–आफनै घरमा छठी माताको प्रतिमा सिरसोता बनाएर मनाएका हुन् । अस्ताउँदो सूर्यलाई अर्घदिने कार्यक्रम हुँदा पोखरीमा प्रहरीले सोमबार बिहानैदेखि कसैलाई जाँन दिएका थिएनन् ।
सामाजिक दूरी राखेर घरघरमा मात्रै चैती छठ मनाउन सबैलाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । याे समयमा पूजाभन्दा मानवता बचाउनु आवश्य रहेको उनले बताए ।
पोखरीहरुमा सुरक्षाकर्मी खटिएपछि दर्जनौं व्यक्तिले आ–आफनो घरमै छठ मनाएका छन् । ‘के गर्ने पूजा छोड्न सकिँदैन, घरको छतमै पोखरी जस्तो वनाएर छठ मनाउँदै छौं ।’ जनकपुरधाम–४ की देवकी देवीले वताइन् ।