विराटनगर, पुस २८–यतिखेर आदिवासी सन्थाल समुदाय आफ्नो महान् पर्व ‘सोहराय’ मा रमाइरहेका छन् । ६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । आदिवासी सन्थाल समुदायको बसोबास रहेको गाउँघरमा यतिखेर सोहराय पर्वको रमझम छ । गाउँका गल्ली, सडकदेखि घरहरू सिंगारिएका छन् । के युवा के वृद्ध, सबै सोहरायको रङमा रंगिएका छन् ।
पृथक सनातन ‘विदिन धर्म’ मान्ने सन्थाल समुदायले पारम्परिक सांस्कृतिक विधिअनुसार ‘गड’ पूजा गरी यो पर्व मनाउन सुरू गर्छन् । प्रत्येक वर्ष ९ जनवरीदेखि ६ दिनसम्म मनाइने यो पर्वको प्रत्येक दिनको बेग्लाबेग्लै महत्त्व हुने गरेको जहदा गाउँपालिका–७ का भगवानलाल बेस्राले बताए । ‘पत्येक वर्ष यसरी नै ६ दिनसम्म यो पर्व हामीले मनाउँदै आएका छौं,’ उनले भने, ‘सबै दिनका आ–आफ्नै महत्त्व छन् ।’ सोहराय पर्वको पहिलो दिनलाई ‘उम‘ भनिन्छ । यस दिन सन्थाल समुदायका मानिसहरू नुहाईधुवाई घर आँगन सफा गरेर चोखिने काम गर्छन् ।
यसै दिन समुदायको मुख्य पुजारी नाइकीले गाउँको बाहिरपट्टि बनाइएको खुल्ला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्छन् । ‘गड’ पुजामा मराङ बुरू, गोसाई ऐरा र जाहेर ऐरा देउतालाई चामलको पिठो, मेथी, सुपारी, लड्डु र जाँड चढाएर पूजा गर्ने गरिन्छ । यो पर्वको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ । दाकाकै दिन चेलीबेटी र पाहुनाहरूलाई निमन्त्रणा गरिएको हुन्छ र उनीहरूले ल्याएका कोसेली बितेका पूर्वजहरूलाई चढाइन्छ । सोहराय पर्वको तेस्रो दिनलाई ‘खुन्टोव’ भनिन्छ । यस दिन समुदायका मानिसहरूले विशेष गरी गाईगोरूसहित अन्य वस्तुभाउलाई जिस्काउँदै खेल्नुका साथै पूजापाठ गर्छन् ।
सोहरायको चौथो दिन गाउँका मुखियासहित समुदायका मानिसहरू समूह बनाएर घरघरमा गएर जाँड खाने चलन छ । यो दिनमा जाली काम गरिने भएकाले सोहरायको चौथो दिनलाई ‘जाली’ नामकरण गरिएको बताइन्छ । सोहरायको पाँचौं दिनलाई ‘हाकुकाट्कोम’ को रूपमा मनाइन्छ । यस दिन स्थानीय खोलानाला तथा पोखरीबाट माछा र गंगटो मारेर ल्याउने र खाने गरिन्छ । यो पर्वको छैटौं तथा अन्तिम दिन शिकार गरेर मासु खाने चलन रहेको मोरङको कानेपोखरी गाउँपालिकाकी अनिताकुमारी हेमरमले बताइन् ।
पहिलापहिला जंगलमा गएर शिकार गर्ने चलन रहे पनि पछिल्लो समय यो चलन लोप हुँदै गएर अहिले गाउँघरमै भएका जनावरलाई शिकार गरेर बाँडिचुँडी खाने चलन । ‘साकरात’का रूपमा मनाइने यस दिन गाउँबाहिरको खुला ठाउँमा केराको थम्मा गारेर तीर हान्ने चलन छ । सो ठाउँमा नायकीको विशेष उपस्थितिमा पूजापाठ र मनोरञ्जन गरेपछि यो पर्व समापन हुने गर्छ ।