विराटनगर। अपराध अनुसन्धानमा अब्बल क्षमताका साथ परिचित इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक (इनिसपेक्टर) दिवस कुँवरलाई कोशी प्रदेश प्रहरी कार्यालयले चैत महिनाको ‘उत्कृष्ट प्रहरी’को रुपमा घोषणा गरेको छ।
कुँवरले धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको जघन्य हत्याको सफल अनुसन्धान गर्दै घटनामा संलग्न अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
प्रहरीको अनुसन्धानबाट उक्त घटनामा मृतकका श्रीमान् प्रेमबहादुर बुढाथोकीको मुख्य योजनामा हत्या भएको खुलेको छ। हाल वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका प्रेमबहादुरले विदेशबाटै हत्याको योजना बनाएको प्रहरीले जनाएको छ।
बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले प्रेमबहादुरसहित ६ जनालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेहरूमा प्रेमबहादुरका भाइ २९ वर्षीय ढकेन्द्र बुढाथोकी, ढकेन्द्रकी श्रीमती २५ वर्षीया सृष्टी बुढाथोकी, प्रेमबहादुरका कान्छा ज्वाइँ ३६ वर्षीय योगेन्द्र गौतम, योगेन्द्रकी श्रीमती २८ वर्षीया डेनु गौतम र ४० वर्षीय केशवराज दाहाल रहेका छन्।
हत्यामा प्रत्यक्ष संलग्न भारतको असालम जिल्लाको तेजपुरमा बस्दै आएका ३५ वर्षीय राजु थापा मगर भने फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
‘संगठनको नीति, नियम र अनुशासनको पालना गर्दै इनिसपेक्टर कुँवरले जघन्य अपराधको सफल अनुसन्धान गरेका छन्,’ कोशी प्रदेश प्रहरीले जनाएको छ, ‘त्यसैले उहाँलाई चैत महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको हो।’
प्रहरी निरीक्षक कुँवरको अनुसन्धान क्षमताको यो उच्च मूल्याङ्कनले अपराध नियन्त्रण तथा निष्पक्ष न्यायका लागि प्रहरीले गर्ने भूमिकाप्रति आम नागरिकको विश्वास बढाउने विश्वास लिइएको छ।