विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन नभई स्थगित भएको छ।
शुक्रबार विराटनगरको एयरपोर्ट मोडस्थित एक होटलमा भएको साधारणसभामा कुल सदस्य संख्या २५१ को दुई तिहाई बहुमत अर्थात १६८ सदस्य उपस्थित हुनुपर्नेमा १४४ सदस्यले मात्र हस्ताक्षर गरेपछि गणपूरक संख्या नपुगेको हो।
उद्घाटन सत्रमा दुई पक्षले प्यानलसहित उम्मेदवारी घोषणा गरेका थिए। अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा एक समूह र सदस्य नरबहादुर भण्डारी नेतृत्वको अर्को समूहले उम्मेदवारी घोषणा गरेका थिए।
तर, अन्तिम समयमा भण्डारी समूह र उनी पक्षका सदस्यहरूले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेपछि अधिवेशन स्थगित हुन पुगेको हो। उद्घाटन सत्रमा भण्डारी समूहका भनिएका संघका पूर्व पदाधिकारी तथा सदस्यहरु अतिथिको आसन ग्रहण गरेर उद्घाटन सत्रको अन्त्यसम्म बसे पनि उपस्थिति पुस्तिकामा हस्ताक्षर भने गरेनन्।
सिग्देल समूहका एक सदस्यका अनुसार, निर्वाचनमा हार व्यहोर्ने डरले भण्डारी समूहले उपस्थितिमा हस्ताक्षर नगरेर अधिवेशनमा भाँडभैलो गर्न खोजेको दाबी गरेका छन्।
विराटनगर ट्रक व्यवसायी संघमा नेपाल सरकारले २०७९–२०८० मा ढुवानी सेवामा भ्याट लगाएपछि विवाद सुरु भएको हो। सिग्देल समूह सरकारले लगाएको नियम मान्नुपर्ने जनाउँदै भ्याटको पक्षमा उभिएको थियो भने भण्डारी समूह भ्याट खारेजीको माग गर्दै सर्वोच्च अदालतसम्म पुगेको थियो।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन सत्रमा राष्ट्रियसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक गोपी अछामी, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी लगायतको उपस्थिति थियो।
हाल संघमा तत्कालका लागि पुरानै समिति यथावत रहेको र छिट्टै बैठक बसेर साधारणसभाको नयाँ मिति घोषणा गरिने संघका महासचिव रमेश श्रेष्ठले जानकारी दिएका छन्।