विराटनगर । प्रथम कोशी प्रदेश टी–२० क्रिकेट प्रतियोगिताकोे उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ ।
आर्मीले शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै उक्त उपाधि जितेको हो । उपाधीसँगै आर्मीले नगद ५ लाखसहित ट्रफी र उप–विजेता कर्णालीले नगर ३ लाखमा चित्त बुझाएको छ ।
यो सँगै आर्मीले जारी सिजनमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको आर्मीले पहिलो उपाधि चुमेको हो । कर्णालीले दिएको १ सय ११ रनको लक्ष्य आर्मीले १२ दशमलव २ बलमा १ विकेटको क्षतिमा पूरा गर्यो । पहिलो विकेटका लागि आर्मीको ओपनर सन्तोष कार्की र ईमरान शेखले २५ रनको साझेदारी गरेका थिए । सन्तोष २१ रनमा क्याच भएपछि मैदानमा प्रवेश गरेका तृतराज दासले आक्रमक शैलीमा जित सुनिश्चित गरे । आर्मीको जितमा शेखले ३० बलमा अविजित ३८ रन र तृतराजले ३३ बलमा अविजित अर्धसतक ५० रन बनाए । अर्धशतक बनाएका दासले २ छक्का र ५ चौका हिर्काए । शेख र दासबीच ५४ बलमा ८७ रनको साझेदार गर्दै खेल आफ्नो पक्षमा पारे । कर्णालीका दिनेश अधिकारीले १ विकेट लिए ।
यस अघि टस जितेश ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १० रनको सामान्य योगफल तयार पारेको थियो । आक्रमक सुरूआत गरेको कर्णालीका लागि विपिन रावलले २७ रन बनाउँदा कप्तान रविन्द्र शाही र मनिस थापाले समान २१–२१ रन बनाए । आर्मीका तृतराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान २–२ विकेट लिए ।
च्याम्पियनसिपमा प्लेयर अफ दि टुर्नामेन्ट र प्लेयर अफ द फाईनलको पुरस्कार आर्मीका अलराउण्डर दासले हासिल गरे । प्रतियोगिताको उदयमान खेलाडी आर्मीका नितेश पटेल घोषित भए ।
विजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गरेका थिए । फागुन २२ गतेबाट शुरू भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशको सहभागिता रहेको आयोजक नेपाल क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए ।