विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताएका छन् । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसङको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न आग्रह गरेका हुन् ।
बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको उल्लेख गर्दै प्रतिस्थापन विधेयकले मानवीय विकासलाई समेत जोड दिए । ‘प्रस्तुत कार्यक्रमहरू विधेयक पास भएको भोलिपल्टदेखि कार्यान्वयनमा जान्छ । उनले भने, ‘समुन्नत प्रदेशका लागि हामीले पाइला चालिसकेका छौँ ।’
मुख्यमन्त्री कार्कीले व्यक्तिगत स्वार्थका योजना तथा कार्यक्रम पेस नगर्न आग्रह समेत गरे । ‘यो पटक बाटै हामीले सुरुवात गरिसकेका छौँ । व्यक्तिगत रूपमा योजना ल्याएर बजेट कनिकासरि छर्ने काम अब हुन्न । अब योजना आयोगले तय गरेका कामहरू प्राथमिकता र योजनाबद्ध तवरले हुनेछन् । त्यसका लागि आयोगले पनि काम सुरु गरिसकेको छ ,’ उनले भने ।
आर्थिक मामिला तथा योजना मन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री कार्कीले शनिवार लोकप्रिय कार्यक्रमहरू समेट्दै आर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गरेका थियो ।