विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन आव्हान भएलगत्तै विपक्षी चार दलीय गठबन्धनले नयाँ सरकार गठनको कसरत सुरु गरेका छन् ।
नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको बैठक काठमाडौंमा बसेको छ ।
उक्त बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राख्ने विश्वासको प्रस्ताव फेल गराउने नर्णय गरेको काँग्रेस नेता केदार कार्कीले जानकारी दिए । यस्तै बैठकले चार दलीय गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय पनि गरेको छ । बैठकमा काँग्रेसका तर्फबाट संसदीय दलका नेता उद्धब थापा, प्रमुख सचेतक भुपेन्द्र राई, सांसद प्रदिपकुमार सुनुवार र कार्की, नेकपा (माओवादी केन्द्र)को तर्फबाट दलका नेता इन्द्रबहादुर आङ्बो, नेताहरु दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र राजेन्द्र कार्की सहभागी थिए । जसपाको तर्फबाट भने निर्मला तावा लिम्बू सहभागी थिइन् ।
नेकपा (एकीकृत समाजवादी)ले भने उक्त निर्णयमा सहमति जनाएको कार्कीले जानकारी दिए । बैठकको समयमा समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईसँग फोनमा कुराकानी भएको र उनले सहमति जनाएको उनको भनाइ छ ।
यता, यसअघि जेठ ३१ गते बजेट अधिवेशन स्थगित भएको थियो । सरकारको सिफारिसमा असार १४ गतेका अर्को अधिवेशन आव्हान गरिएको छ । आइतबार बसेको प्रदेश सरकार मन्त्रीपरिषदका् बैठकको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज प्रदेशसभाको तेस्रो अधिवेशन आव्हान गरेका हुन् ।
सोही अधिवेशनमा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ९३ जना प्रदेशसभा सदस्यहरुमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । काँग्रेससहितको गठबन्धनले कार्की नेतृत्वको सरकार ढलेसँगै अर्को सरकार गठनको पहल सुरु गरेको हो ।