प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग माग गरेको छ ।
आइतबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाएर आम नागरिकलाई राहत दिन सरकारसँग माग गरेका हुन् । भारतीय आयल निगमले दुई–दुई पटक मूल्य घटाएर पठाए पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाएको उनको आरोप छ ।
‘भारतीय आयल निगमले पेट्रोलिय पदार्थको मूल्य दुई पटक घटाएर पठाएको छ । तर, सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छैन । ३१ रुपैयाँ घटाउँदा पनि उपभोक्ताले महँगै मूल्यमा पेट्रोलियम पदार्थ किन्नुपर्ने? नाफा हुँदा नाफा जति आयल निगमको पोल्टामा, घाटा हुँदा घाटाको भार सबै उपभोक्ताको काँधमा ? यो कहाँको न्याय हो ?,’ उनले प्रश्न गर्दै भने ।
उनले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएर आम नागरिकलाई राहत दिएर सरकार भएको कुराको अनुभूति दिलाउनुपर्ने बताए ।