विराटनगर, असार १६ । बाढी र डुबानका कारण मोरङमा १ हजार ७ सय १८ परिवारका साढे छ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार वर्षापछिको बाढी र डुबानका कारण १ हजार ७ सय १८ परिवारले घर छाड्नुपर्ने अवस्था आएको हो ।
भीषण वर्षा हुँदा मोरङका अधिकांश स्थान डुबानमा परेपछि मंगलबार र बुधबार ठूलो संख्यामा सर्वसाधारण विस्थापित बन्नुपर्ने अवस्था आएको छ । बाढीले घरमा क्षति गरेपछि र घर डुबानमा परेपछि बस्नसक्ने अवस्था नभएर सर्वसाधारण विस्थापित बनेको जानकारी प्रजिअ दाहालले दिनुभयो ।
‘डुबान भएका क्षेत्रमा चार फिटसम्म पानी जमेको थियो । अहिले पानीको सतह घट्दै गएर डुबानमुक्त भएपछि विस्थापितहरु आफ्नै घर फर्कने तयारी गर्दै छन्,’ प्रजिअ दाहालले भन्नुभयो, ‘केही परिवार भने फर्किसकेका छन् । वर्षा रोकिएकाले अवस्था सामान्य बन्दै गइरहेको छ ।’