एमसीसी परियोजनालाई सदनबाट अनुमोदन गराउने प्रयास भइरहँदा सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमाेर्चा एमसीसीविरुद्ध सडक आन्दोलनमा उत्रेको छ । एमसीसी राष्ट्रघाती रहेको दाबी गर्दै चित्रबहादुर केसी नेतृत्वकाे राष्ट्रिय जनमाेर्चा शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धन सरकारविरुद्ध सडक आन्दाेलनमा उत्रेकाे हाे ।
जनमाेर्चासहित आठ राजनीतिक दलले एमसीसी पास गर्न नहुने भन्दै सरकारविरुद्ध सडक आन्दाेलन घाेषणा गरेका हुन् । उनीहरूले २५ र २६ माघमा देशैभर विरोध प्रदर्शन गर्ने भएका छन् ।
२५ माघमा देशैभरी संयुक्त कोणसभा गर्ने र २६ गते काठमाडौं उपत्यकामा माइतीघरवाट जुलुससहित संसद भवनअगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरिएकाे छ । यस्तै देशभरका जिल्ला सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय पनि साना राजनीतिक दलहरूले लिएका छन् ।
उनीहरूले देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनताथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसकाविरुद्ध शशक्त आन्दोलन सृष्टि गर्न अपिलसमेत गरेका छन् ।
जनमाेर्चासहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रूपमा विराेध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।